भ्रूणको लिङ्ग पहिचान, आमा मात्रै किन दोषी ?

 


बिहे गरेर गृह–प्रवेश गर्दा बीनाकी सासूले ‘दूधो नहाओ, पूतों फलो’ भनेर आशीर्वाद दिंदा उनी लाजले भुतुक्क भएकी थिइन् । आशीर्वादको अर्थ थियो-दूधले नुहाऊ र पुत्र पैदा गरी घरलाई सुन्दर बनाऊ ।

२० वर्षको उमेरमा बीनाको बिहे स्थानीय व्यापारीसँग भएको थियो । उनीहरूको पाउरोटीको व्यापार थियो । ८० नाघी सकेकी बूढीसासूका साथै सासूससुरा गरी जम्मा पाँच जनाको परिवारमा बीना निकै खुशी भएकी थिइन् । उनको आगमनले घरमा पनि सबै खुशी थिए । बूढीसासूले दिएको आशीर्वाद जस्तै बिहेको पहिलो वर्षमै बीना गर्भवती भइन् । पहिलो सन्तानको रूपमा उनले छोरी जन्माइन् । पहिलो सन्तानको रूपमा छोरी जन्मिएपछि बूढीसासूले घरमा लक्ष्मीको आगमन भयो भनेर हर्षबढाइँ समेत गरेकी थिइन् । आफ्ना मान्यजनले दिएको आशीर्वाद अनुसार जीवन चलेको भन्दै बीना पनि मक्ख पर्दै छोरीको स्याहारसुसारमा लागेकी थिइन् ।

तर छोरी जन्मेको चार-पाँच महीनापछि बूढीसासूको आशीर्वाद पूरा नभएको महसूस गरिन् । किनभने सासूले दिएको आशीर्वाद सन्तान होस् भन्दा पनि सन्तानको रूपमा छोरै होस् भन्ने रहेछ । सुत्केरी भएपछि पहिलो पटक महीनावारी भएको थाहा पाउने बित्तिकै बूढीसासूले मर्नुअघि नातिको मुख हेर्न चाहेकोले अर्को बच्चाको प्लान गर्न आदेश दिइछिन् ।

पहिलो सन्तान जन्मेको चार-पाँच महीनामा दोस्रोपटक गर्भवती हुने बीनालाई कत्ति पनि इच्छा थिएन । तर सासूको अगाडि उनले बोल्न मिल्दैनथ्यो । उनले प्रतिवाद गरे ‘पोथी बासी’ भनेर घरमा झगडा हुन्थ्यो ।

उनले नचाहँदा नचाहँदै पनि उनी दोस्रोपटक गर्भवती भइन् । साँझ सुत्न मात्र घर आउने उनको श्रीमान्ले एकपटक पनि श्रीमतीको इच्छाबारे सोध्न जरूरी ठानेनन् । तीन महीनाको गर्भ हुने बित्तिकै सासूले भारत गएर गर्भमा छोरा वा छोरी के छ भनेर जाँचेर आऊ भनिन् । बीनाका श्रीमान्ले हजुरआमाको आदेश अनुसार बीनालाई भारत लगेर जाँच गरे । यो पटक पनि गर्भमा छोरी रहेको थाहा भएपछि उतै गर्भपतन गरेर फर्के ।

त्यो दिन बीना निकै रोइन् । आफूले आफ्नो सन्तानको हत्या गरे झैं महसूस गरेर उनी धेरै दिनसम्म निराश भइन् । शारीरिक पीडा त छँदैथियो, आफ्नो गर्भको बच्चालाई आफैंले सहमति दिएर मार्नुलाई उनले पाप मानेर पछुतो पनि गरिरहिन् । तर बच्चा पाउने नपाउने कुराको निर्णय त उनले नभई उनको परिवारले गर्न थाले । उनी त्यसपछि पाँचपटक गर्भवती भइन् । पहिला जस्तै भारत गएर जाँच गर्दै गर्भपतन गरेर फर्किइन् ।

उनी मनबाट निकै दुःखी भइसकेकी थिइन् तर पनि मेसिन जस्तै वर्षैपिच्छे गर्भ बोक्न बाध्य हुन्थिन् ।आफ्नो पेटमा जम्दै गरेको रगतको डल्लोलाई लिङ्गकै कारण बोर्डर पारि गएर मार्ने काम उनलाई कत्ति पनि चित्त बुझेको थिएन । उनले केही बोले ‘पोथी बासी’ भनिन्थ्यो ।

छोराले वंश धान्छ, छोरोबिना मुक्ति पाइँदैन भन्ने मान्यता बोकेको पुरुषप्रधान हाम्रो समाजमा बीना, मञ्जु र मुना जस्ता कति आमाहरू अहिले पनि आफूलाई ‘आफ्नै बच्चाको हत्यारा आमा’ सम्झेर बाँचिरहेका होलान् ? के गर्भपात भएर मर्ने ती अबोध भ्रूण छोरीहरूका बुवाहरूले पनि आफूलाई ‘हत्यारो बुवा’ सम्झेका होलान् ?

 

बोलेको कुराको सुनुवाइ पनि नहुने । त्यसैले उनी चूपचाप सहेर बस्थिन् । छैटौं पटक गर्भवती हुँदा डाक्टरले पेटमा छोरा भएको सुनाए । उनीहरू घर फर्किंदा बीनाको श्रीमान्को अनुहारमा चमक थियो । उनी आफ्नो पुरुषार्थप्रति गर्व गरिरहेका थिए । तर बीनाको अनुहारमा कुनै चमक थिएन । बीना त आफूलाई ‘चार छोरीको हत्यारा’ सोच्दै मनमनै रोइरहेकी थिइन् ।

बीनाकी छिमेकी मुनाको व्यथा पनि उनको भन्दा जटिल छ । सरकारी कर्मचारीसँग बिहे गरेकी मुनालाई पनि बिहे गरेर घर आउँदा छिट्टै दुईबाट तीन हुनु भनेर आशीर्वाद दिइएको थियो । उनले पनि बीनाले जस्तै पहिलो वर्षमै छोरी जन्माइन् । उनले पनि तीन हुनुको अर्थ छोरा पाउने आशीर्वाद पाएकी रहेछु भन्ने कुरा त्यसपछि मात्र बुझिन् ।

मुनाको परिवार बीनाको परिवारको तुलनामा शिक्षित थियो । तर सोच भने उनीहरूको पनि पुरानै थियो । छोरो विना वंश चल्दैन र वैतरणी पार हुन सकिंदैन भन्ने धार्मिक मान्यता घरमा थियो । त्यसपछि मुना पनि वर्षेनि गर्भवती हुँदै भारतमा गएर जाँच गराउन थालिन् । गर्भमा छोरी हुँदा गर्भपात गर्दै फर्किंदा उनको पनि मन रुन्थ्यो ।

उनले दुईपटक त माइत गएको बेला चेक–जाँच गरेको भन्दै घरमा ढाँटेकी थिइन् । उनले छोरी पाउँदा घरमा खूबै गाली पाइन् । तीन–तीन छोरी पाइसकेको र ढाँटेकोले मुनाका सासूससुराले ज्योतिषमा देखाए । ज्योतिषले मुनाका श्रीमान्को बहुविवाहको योग भएकोले अर्को बिहे पछि मात्र छोरा हुने भनेछन् ।

ज्योतिषीले बोटबिरुवासँग बिहे गरे दोष काटिने भनेको भए पनि मुनाका श्रीमान्ले अर्को बिहे गर्ने इच्छा जाहेर गरे । मुनालाई जबर्जस्ती सहमति छ भन्न लगाएर उनले दोस्रो बिहे गरे ।

संयोग नै भन्नुपर्छ श्रीमान्ले बिहे गरेकै साल मुनाले छोरो पाइन् । उनकी सौता मञ्जुले भने छोरी पाइन् । दोष काटिएकोले मुनाको छोरा भएको भनेर श्रीमान् र सासू–ससुराले ज्योतिषलाई घरमै बोलाएर सम्मान गरे । छोरो पाएर घरमा आफ्नो महत्व बढेको भए पनि श्रीमान्ले सौता ल्याएकोमा भने मुनाको श्रीमान्प्रति माया वा कुनै आशा थिएन । औपचारिकताका लागि सँगै सुत्ने सम्बन्ध छ भन्थिन् उनी आफ्नो वैवाहिक जीवनलाई ।

छोरो पाएर मुनाको पाठेघरले विश्राम पाएको थियो । अब उनलाई सन्तान जन्माउनको लागि कुनै कर थिएन । तर उनकी सौता मञ्जुको भने उनको जस्तै अवस्था थियो । मञ्जुले पनि दुई छोरी जन्माइसकेकी थिइन् । उनीबाट पनि छोरै चाहियो भनेर साल-सालै गर्भवती हुन बाध्य पारिएको थियो ।

मुनाले जस्तै मञ्जु पनि वर्षैपिच्छे गर्भवती हुँदै छोरी भएको गर्भपात गरेर घर फर्किन थालिन् । मञ्जुको पाठेघरले पनि सातौं पटकमा छोरालाई जन्माए पछि विश्राम पायो । मुनालाई शुरूमा सौतासँग निकै रीसडाह लाग्थ्यो । तर पछि उसले पनि आफू जस्तै दुःख पाएको देख्दा दया पनि मान्थिन् ।

‘हामी दुवै बहिनी बच्चा जन्माउने मेसिन भएर घरमा आएका हौं । छोरो जन्माएर अब हाम्रो पाठेघरले विश्राम पायो’ उनीहरू यसरी ठट्टा पनि गर्छन् । तर, उनीहरूले गरेको ठट्टामा समाजको वास्तविकता लुकेको छ ।

छोरा जन्माएर उनीहरू परिवारमा खुशी जस्ता देखिए पनि आफ्नै कोखका दर्जन बढी छोरीलाई मारेकोमा उनीहरूले आफूलाई ‘हत्यारा आमा’ महसूस गरिरहन्छन् । छोराले वंश धान्छ, छोरो विना मुक्ति पाइँदैन भन्ने मान्यता बोकेको पुरुषप्रधान हाम्रो समाजमा बीना, मञ्जु र मुना जस्ता कति आमाहरू अहिले पनि आफूलाई ‘आफ्नै बच्चाको हत्यारा आमा’ सम्झेर बाँचिरहेका होलान् ? के गर्भपात भएर मर्ने ती अबोध भ्रूण छोरीहरूका बुवाहरूले पनि आफूलाई ‘हत्यारो बुवा’ सम्झेका होलान् ?

Comments

Popular posts from this blog

त्यो रात कसले आगो लगायो ?

त्यो रात आखिर के भएको थियो ?