सियो धागोले सपना बुन्ने दिदी-बहिनीको कथा knp भूमिकाकुमारी विष्ट असोज २ 262 Shares facebook sharing buttontwitter sharing buttonemail sharing buttonsharethis sharing button Tata box 1everyghar पहाडमा धेरै दु:ख भयो भनेर उनीहरूको परिवार तराई झरेको थियो। सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङको विकट गाउँमा उनीहरूले आफ्नो बाल्यकाल बिताएका थिए। invotech उनीहरूको त्यहाँ उब्जनी खासै नहुने पहाडमा थोरै जमिन थियो। पहिलो सन्तान छोरा भए पनि अर्को छोरा पाउन उनका बाआमाले ७ छोरी जन्माएका थिए। एउटा आँखा के आँखा, फुटी गए कसरी संसार हेर्ने, अर्थात् एउटा मात्र छोरो के छोरो, केही भइहाले कस्ले पाल्छ ? यस्तो मान्यता बोकेको समाजमा उनीहरू हुर्किएका थिए। सन्तान धेरै भएपछि खानलाउन समस्या हुने नै भयो। यिनै सात बहिनीमध्येकी कान्छी हुन सुर्जकला र रमिला। उनीहरूको दिदीहरूको त सानैमा बिहे भइसकेको थियो। आर्थिक अभावले दुवै बहिनीले ७ वर्षसम्म पनि स्कुल जान पाएका थिएनन्। छिमेकीका बच्चा स्कुल गएको देख्दा उनीहरू हेरिरहन्थे। छिमेकीका बच्चा स्कुलबाट फर्किएपछि उनीहरू स्कुलमा केके हुन्छ भनेर सोध्थे। बिहे गरेर गएका दिदीहरूले जसरी पनि बहिनीहरूलाई पढाउनुपर्छ भनेर कर गरेपछि मात्र बाले दुवैलाई ७ वर्षको उमेरमा स्कुल भर्ना गरेका थिए। goodknightsanima box ad 2 दुबै जना काठको पाटी बोकेर स्कुल जान्थे। खरीलाई कलम बनाएर लेख्थे। अरु बच्चाहरू कपीकलममा लेखेको देखेर उनीहरू पनि रहर गर्थे तर कागजको कपी लेख्न उनीहरूले तीन वर्ष कुर्नुपर्यो। स्कुल जान पाएर उनीहरूको जीवनमा दोहोरो खुसी थपिएको थियो। स्कुल जान थाले पछि उनीहरूले जीवनमा पहिलो पटक चप्पल लगाउन पाएका थिए। भारतको पिथौरागढबाट उनीहरूको बाले ल्याइदिएको बाटा कम्पनीको चप्पल उनीहरू निकै जतन गरेर लगाउँथे। एकजोर चप्पल उनीहरूले ४ वर्षसम्म चलाएका थिए। ncell in कक्षा ४ मा पुगेपछि चप्पल सानो हुनुका साथै घिसिएर पातलो भइसकेको थियो। चप्पलबाट काडा नै बिझ्ने भइसक्दा पनि बगरमा गिटी कुटने काम गर्ने बाले अर्को जोर चप्पल किन्न सकेनन्। घरदेखि दुई घन्टाको दूरीमा रहेको स्कुल पुग्न एउटा जंगल पनि पार गर्नु पथ्र्यो। जति नै दु:ख भए पनि उनीहरू पढ्न चाहन्थे। त्यसैले खाली खुट्टा नै स्कुल जान थाले। खाली खुट्टा स्कुल पुग्दा साथीहरूले उनीहरूको खिल्ली गर्थे। तर उनीहरू सुने नसुने झैं गरी पढाइमा मात्र ध्यान दिन्थे। खोलामा गिटी कुटेर कमाएको पैसाले दुई छाक खान पनि मुस्किल पर्ने कुरालाई दुवैले राम्रोसँग बुझेका थिए। त्यसैले उनीहरूले पढाएको विषयमा घरमा कुनै माग राखेनन्। कतिपटक त भोकै स्कुल समेत गएका थिए। कापीमा लेख्न थालेपछि उनीहरू कपीको पाना बचाउन एक जनाको कपीमा पालैपाले लेख्ने र दुवैले पढ्ने गर्थे। यसरी एक जनाको खर्चमा उनीहरू दुई जना स्कुल पढिरहेका थिए। तर उनीहरूले यसरी फारो गरी पढ्दा पनि घरमा समस्या बढ्दै गयो। ७ सन्तान जन्माएकी आमा प्राय: बिरामी भइरहन्थिन्। चुरोटको लत लागेका बुवालाई पनि बेलाबेला दम लाग्थ्यो। बाआमा काम गर्न नसकेको बेला उनीहरू पनि स्कुल छोडेर गिटी कुट्ने काम गर्थे। शनिबारको दिन त प्राय: सधैं उनीहरू बालाई गिटी कुट्ने काममा सघाउँथे। यसरी विस्तारै उनीहरूको स्कुल जाने क्रम छुट्दै गयो। आमा बिरामी भएकोले उनीहरू दुवै घरको काममा ब्यस्त हुन थालेपछि स्कुल जान बन्द भयो। तर दाइ भने स्कुल पढ्थे। कक्षा १२ पास गरेर दाइ काम गर्न भारत जाँदा सुर्जकला र रमिलाले कक्षा ७ मा स्कुल छोडेका थिए। पहाडको दुखलाई राम्रोसँग बुझेका दाइले तराई झरे खानलाउन पुग्ने सपना बालाई देखाएपछि उनीहरू तराई झरेका थिए। पहाडको उब्जनी नहुने जग्गा बेचेको पैसाले उनीहरूले तराईमा पनि राम्रो ठाउँमा जग्गा पाएनन्। चुरेका फेदमा कम उब्जाउ जग्गा भए पनि किनेर उनीहरू बस्न थाले। पहाडबाट पहिलो पटक तराई झरेका दुबै बहिनी तराईका फाँटहरू देखेर रमाउँथे। दुबैलाई यहाँको जीवन फाँटजस्तै सम्म र सजिलो लाग्थ्यो। तर पैसा नै सबै कुरा रहेछ। पैसा बिना तराईमा पनि जीवन सजिलो छैन भनेर बुझ्न उनीहरूलाई धेरै समय लागेन। अझ, पहाडका फरक-फरक ठाउँबाट आएर बसेका मानिसहरूमा पहाडको जस्तो आफ्नोपनको अभाव उनीहरूले महसुस गरे। भाषा पनि फरक फरक भएजस्तै मानिसहरूका सोच र आवश्यकता पनि फरक-फरक थिए। दुवै बहिनीलाई नेपाली भाषा पनि राम्रोसँग नआउने भएकोले अरुको अगाडि बोल्न पनि लजाउँथे। तराई झरेपछि उनीहरू कक्षा ७ मा फेरि स्कुलमा भर्ना भए। भारत गएको दाइले सामान्य घर खर्च पठाउन थालेपछि दुवै दिदी बहिनीले आफ्नो स्कुलको खर्च जोहो गर्न नजिकैको जंगलबाट दाउरा ल्याएर बजारमा बेच्ने गर्न थाले। जंगलबाट दाउरा बजार पुर्याउन उनीहरूलाई दुई तीन घन्टा लाग्थ्यो। त्यसैले उनीहरू बिहान कुखुरा बास्दै उठेर जंगल जान्थे। स्कुल ड्रेस र किताबकपी पनि सँगै लग्थे। बजारमा दाउरा बेच्दासम्म उनीहरूको स्कुल जाने समय भइसक्थ्यो। अनि नजिकैको जंगलमा ड्रेस लगाएर उनीहरू स्कुल जान थाले। हातमा दाउरा बेचेको पैसा भए पनि उनीहरू त्यसलाई खर्च गर्दैन्थे। बरु बिहान घरबाट निस्किँदा बासी रोटी बोकेर आउँथे। उनीहरूको जीवन पहाडको भन्दा कम कष्टकर थिएन। कक्षा ८,९ र १० मा पढ्दासम्म उनीहरू टुकी बालेर नै पढ्थे। किनभने उनीहरू बस्ने गाउँमा बिजुली पुगेको थिएन। अलिकति पैसा हुनेहरूले सोलार जोडेर घर उज्यालो पारेका थिए। तर उनीहरूको अवस्था त्यस्तो थिएन। दुवै बहिनीले एसइई पास गरेपछि मात्र दाइले पठाएको पैसाले उनीहरूले पहिलो पटक सोलार जोडेर घर उज्यालो पारे। त्यसको एक दुई महिनामा दाइले भारतमै बिहे गरेकोले अब पैसा पठाउन नसक्ने खबर पठाएपछि उनीहरूले सहारा खोसिएको महसुस गरे। भर्खरै एसइई सकेर उच्च शिक्षा पढ्न दाइले सघाउने उनीहरूले ठूलो आशा गरेका थिए। तर दाइको मजबुरीलाई पनि उनीहरूले बुझेका छन्। समस्या जस्तो आए पनि अब पढाइ भने नरोक्ने उनीहरूले सल्लाह गरेका छन्। दुवै बहिनी अहिले गाउँ नजिकको बजारमा सिलाइ सिक्न थालेका छन्। कक्षा ११ मा भर्ना भएर पढ्नको लागि उनीहरूलाई २० हजार जति खर्च लाग्ने अनुमान गरेका छन्। जुन अहिले उनीहरूले कमाउन सम्भव छैन। त्यसैले यो वर्ष भर्ना नहुने निर्णय गरेका छन्। भर्खरै सियोमा धागो बुन्न सिकिरहेका दुवैलाई ६ महिनामा कपडा सिलाउन सिकिहाल्ने उनीहरूको विश्वास छ। कपडा सिलाउने काम सिकिसकेपछि अर्को ६ महिना दुवै बहिनी टेलरको पसलमा ज्यालादारी काम गरेर पैसा जम्मा गर्ने र अर्को वर्ष ११ कक्षा भर्ना हुने उनीहरूको योजना छ। भर्खरै सियोमा धागो बुनिरहेका सिर्जकला र रमिलाले अर्को वर्ष ११ कक्षामा भर्ना हुने सपनालाई साकार पार्न सक्लान् ? यी दिदीबहिनीलाई भेटेदेखि यही कुरा दिमागमा आइरहेको छ।

Comments

Popular posts from this blog

त्यो रात कसले आगो लगायो ?

त्यो रात आखिर के भएको थियो ?