जसले बालविवाह गर्नुहुदैन भनेर पढेकी थिइन् तर कक्षा ८ मा पढ्दापढ्दै…



102Shares
facebook sharing button 83
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button
जसले बालविवाह गर्नुहुदैन भनेर पढेकी थिइन् तर कक्षा ८ मा पढ्दापढ्दै…
फोटो : Uma Bista via Nytimes

  • भूमिका विष्ट-

स्कुलमा बालविवाह गर्नु हुदैन भन्ने पढेकी जमुना १६ वर्षमै विवाह गर्न बाध्य भइन्। जमुना सानै छँदा उनको बुवाको मृत्यु भएछ। आमाले ज्याला मजदूरी गरेर जमुना र उनकी बैनीलाइ स्कुल पढाउनु भएको थियो। जमुनाको गाँउमा उनकै उमेरका धेरै केटी स्कुल जाँदैन्थे। जमुना बेलाबेला उनीहरुलाई स्कुल पढ्नु पर्छ भनेर पनि सम्झाउँथिन्। उनी आफ्नो आमाले गरिबीका बाबजुद पनि स्कुल पढाएको कुरा सुनाएर अरु केटीलाइ पढ्न प्रेरित गर्थिन्। जमुनाले आमाले गरेको दु:ख राम्रोसँग बुझेकी थिइन्। त्यसैले धेरै पढेर आमालाई सुखी बनाउने सपना उनले बुनेकी थिइन्। छिटो पढाइ सकेर आमाको जिम्मेवारीमा साथ दिएर बहिनीलाई पनि राम्रो पढाउने जमुनाले सोचेकी थिइन्। तर सबै सोचेजस्तो कहाँ हुने रहेछ र!     

एकदिन जमुना ढिक्कीमा धान कुटेर आँगनमा चामल छान्दै थिइन्। त्यही बेला छिमेकी एकजना भाउजुले उनलाई 'नानी तराइमा बिहे गरेर जाउ, ढिक्की कुट्नु पर्दैन' भनेर जिस्क्याइन्। जमुनाले भाउजुको कुरा बुझिनन् र ढिक्कीमा चामल कुट्दा जोगिने पैसाले घरको खर्च चल्ने जवाफ दिइन्। खासमा ती भाउजुले आफ्नो भाइ नाता पर्ने केटाको कुरा घरमा पुर्‍याएकोले जिस्काएकी रहेछिन्। धान कुटेर जमुना घर पुग्दा, उनकी आमा निरास भएर बसेकी थिइन्। धान कुट्दा थाकेर आएकी जमुनाले आफ्नो भन्दा बढी थकान आमाको आँखामा देखिन्। छिमेकीले छोरीको बिहेको कुरा गरेकोले आमा चिन्तित हुनु भएको जमुनालाइ भन्नु भएन। साँझ धारामा पानी लिन जाँदामात्र छिमेकी भाउजुले नै जमुनालाई बिहेको कुरा बताएकी थिइन्। उनले जमुनालाई बिहेको लागि फकाउन तराइको सुख सुविधा र रमाइलोका अनेक कुरा सुनाइन्। जमुना त्यो रात राम्रोसँग सुत्न सकिनन्। छिमेकी भाउजुले भनेको कुरा उनलाई हो जस्तो पनि लाग्यो। भाउजुले उनलाई बिहे गरेर गए आमाको टाउकोको बोझ पनि कम हुने भनेकी थिइन्। 'के साच्चै म आमाको लागि बोझ हुँ त?' यो कुराले जमुना निकै भावुक पनि बनेकी थिइन्। भाउजुसँगको कुरापछि आमाको अनुहारमा देखिएको अन्यौलले पनि उनलाई आफू आमाको लागि बोझ भएको महसुस हुँदै गएको थियो। मनमा यही पीडाले उनले सानैमा बिहे गर्नु हुदैन भन्ने थाहा हुदाँहुदै पनि ८ कक्षामा पढ्दै गर्दा बिहे गर्न सहमति जनाएकी थिइन्। यद्यपि जमुनाले पढाइको महत्व बुझेकीले बिहेपछि आफूलाई स्कुल पढ्न दिनुपर्ने शर्त राखेकी थिइन्। केटा पक्षले पढाउने कुरामा सहमति जनाएपछि जमुना बिहे गरेर तराइ झरिन्।

तराइको खुला मैदान देखेर जमुनाले यहाँको जीवन यस्तै सहज होला भन्ने अपेक्षा गरेकी थिइन्। तराइको स्कुलमा पढ्ने भनेर उनी फुरुँग पनि थिइन्। अझ श्रीमानसँगै स्कुल जाने कुराले त उनी झनै रोमान्चित हुन्थिन्। तर उनको उमँग धेरै दिन टिक्न सकेन। बिहे गरेर तराइ झरेको केही दिनमा जमुनाले उनको श्रीमान कुलतमा फसेर स्कुल छोडेको थाहा पाउँदा उनी छाँगाबाट खसे झै भइन्। अझ कुलतमा फसेको केटालाई सुधारिदेला भनेर बिहे गरिदिएको थाहा पाउँदा झनै दुखी भएकी थिइन्।

'आफ्नो छोरो सुधार्ने भनेर केटी मान्छेको जीवनसँग किन खेलवाड गर्छन?' उनी घन्टौ सोच्थिन्। तर उनी चाहेर पनि यहाँबाट उम्किन सक्दैन थिइन्। श्रीमान कुलतमा फसेको थाहा पाएपछि उनले धेरै पटक माइत फर्किने पनि सोचिन्। तर आमाको अवस्था र समाजमा लाज हुने डरले उनले त्यस्तो कदम चाल्न सकिनन्।

बिहेपछि घरमा खर्च बढ्दैछ भनी जमुनाको श्रीमानलाई काम गर्न भारत पठाए। बेला बेलामा कुलतमा फसेको मान्छेलाई सुधार्न भन्दै आफूसँग बिहे गरेको कुरा सम्झिँदा उनको मन दुखी हुन्थ्यो। श्रीमान भारत गएको केही समयमा जमुनाको महिनावारी रोकियो। उनले यो कुरा श्रीमानलाई बताइन्। घरमा पनि सबै जना खुशी भए। बुवा बन्ने थाहा पाएपछि श्रीमानले पनि जमुनालाई दिनहु फोन गर्दै छिट्टै घर फर्किने भन्थे। गर्भवती भएको कुराले सबैजना खुशी भए पनि जमुना भने खुशी थिइनन्। बढ्दै गरेको पेटले गर्दा स्कुल जान नसक्ने सोचेर उनी चिन्तीत हुन थालिन्। पेटमा बच्चा भएर आफ्नो पढ्ने रहर अधुरो रहने भयो भनेर उनी खिन्न हुन्थिन्। बच्चा जन्मिएपछि स्कुल जान्छु भन्ने जमुनाले अठोट गरेकी थिइन्। पेटमा हुर्किँदै गरेको बच्चा चल्न थालिसकेको थियो। फोनमा कुरा गर्दा पनि विद्यालयकै कुरा सँधै गर्ने भएर उनको श्रीमान रिसाउँथे पनि। जमुनाको सुत्केरी हुने समय नजिकिँदै जाँदा उनको श्रीमानले पैसा पठाउन पनि शुरु गरे। कुलतमा फसेको श्रीमान परदेशमा गएर काम गरी पैसा पठाउन थाले पनि जमुना सन्तोष महसुस गर्न थालेकी थिइन्। बिस्तारै उनको मनमा श्रीमान प्रतिको माया पलाउँदै थियो। श्रीमानसँगै बस्न पाए हुन्थ्यो जस्तो पनि लागथ्यो उनलाई। बिहे भएको २ महिनामै राम्रोसँग घुलमिलसमेत हुन नपाउदै श्रीमान भारत गएकाले 'मलाई त तपाइको अनुहार पनि याद छैन' भनेर जमुना श्रीमानसँग फोनमा जिस्कीन्थीन्। हुन पनि जमुना बिहे गरेर आउने बित्तिकै श्रीमान कुलतमा फसेको थाहा पाएर उसको अनुहार नै हेरेकी थिइनन्। उसलाइ साच्चै श्रीमानको अनुहार एकदमै मधुरो मात्र सम्झना थियो।

तिहार नजिकिदै गर्दा जमुना सुत्केरी भइन्। उनले छोरालाइ जन्म दिइन्। छोरो जन्मिएको खुशीले उनको श्रीमान पनि दंग थिए। उनी छोरो र श्रीमतीलाइ हेर्न घर आउन लालयित भएका थिए। तर भारतमा दिपावलीमा कामदारलाई बोनस बाँढिने भएकोले उनी बोनस बुझेर तिहारपछि मात्र घर फर्किने तयारीमा थिए। जमुना पनि श्रीमानलाई हेर्न निकै आतुर थिइन्।

दिपावलीको दिन जमुनाको श्रीमानले बोनससहित तलब बुझे। उनी त्यसै साँझ घर फर्किने भनेर जमुनालाइ फोनमा भनेका थिए। तर साथीहरुको लहलहैमा लागेर उनी त्यो दिन बेँगलोरबाट हिँडेनन्। एकरात रमाइलो गरेर मात्र भोलि नेपाल फर्किने उनीहरुले सल्लाह गरे। उनीहरु एउटा होटेलमा जाँडरक्सी खाएर तास खेल्न लागे। जमुनाको श्रीमानले पैसा जितेर हिड्न लागेको भन्दै उनीहरुले फेरि खेल्न कर गरे। तर उनले मानेनन्। रक्सीको मातमा खेल्दाखेल्दै साथीहरुमा विवाद भएपछि कुटाकुट भयो। त्यसपछि साथीहरुले उनलाई लखेट्दै होटेलको छतमा पुर्‍याएका रहेछन्। बिहान होटेलको आँगनमा उनी मृत अवस्थामा फेला परे। प्रहरीले उसको साथीहरुलाइ पक्राउ गरी सोधपुछ गर्दा छतबाट फालेर मारेको स्वीकार गरे। उनीहरु सबैजना अहिले भारतको कारागारमा सजाय काटिरहेको छन्।

घरमा जमुनाका श्रीमानको मृत्यु खबर सुनेपछि जमुनाको पैतलाले जमिन छोडेजस्तो भयो। उनका ससुरा छोराको शव घर ल्याउन एक लाख रुपैयाँ कर्जा लिइ भारत गए। जमुना त होसमै थिइनन्। श्रीमानको मुख हेर्ने आशमा थिइन्। तर अन्तिम पटक श्रीमानको मुख हेर्ने जमुनाको धोको पुरा हुन सकेन। मृत शरीरलाई त्यति टाढाबाट नेपालसम्म पुर्‍याउन जुमनाको ससुरासँग भएको पैसाले नपुग्ने भएछ। उनले छोरा काम गर्ने होटलको मालिकलाई शव नेपाल पठाउन सहयोग मागे पनि साहुले खर्च गर्न मानेनन्। पासपोर्टमा भिसाको छाप लगाएर तेस्रोमुलुक गएको कामदारलाई कम्पनी वा सरकारले नै शव घर पुर्‍याउने भए पनि भारतमा काम गर्ने कामदारको कसैले जिम्मा लिँदैन। त्यहाँ भएका केही नेपालीले शव नेपाल ल्याउन पुग्ने पैसा ऋण खोजिदिन भने पनि तिर्ने आधार नभएकोले जमुनाका ससुराले मनमा ढुंगा राखेर बेँगलोरमा छोराको दाहसँस्कार गरे।

जमुनाले श्रीमानको अन्मित पटक अनुहार हेर्न नपाएको भन्दै छाती पिट्न थालेपछि ससुराले बुहारी छोराको भिसा लागेर कमाउन नगएको भन्दै सम्झाए। गरिबीको बाध्यताले छोराको शव घर ल्याउन नसकेको भन्दै त्यो दिन सबै रोए। कलिलो उमेरमा काखमा १ महिनाको बच्चा च्यापेर श्रीमानको किरिया गरिन्। श्रीमानको सास रोकिएसँगै जमुनाका पनि सबै रहरहरुले पनि विश्राम लिए। उनको अगाडी संसार अध्यारोमात्र देखिएको थियो। सानै उमेरमा भएको बज्रपातलाई जसरीतसरी सहँदै जीवनलाइ अगाडि बढाउन थालेकी थिइन्। तर बिहे गरेपछि छोरो मरेको भन्दै जमुनाकी सासुले उनलाई अल्च्छिना भन्दै बेला बेला गाली गर्छिन्। जमुनालाई सासुले वचन लगाएको देख्दा गाउँका सबैले उनलाइ बिहे गरेर जाउँ भन्छन्। तर जमुना छोरालाई छोडेर आफु आनन्दले बस्ने कुरा सोच्न पनि चाहदैनिन्। सासुको वचन र हिंसा सहेर भएपनि जमुना त्यही घरमा बसीरहेकी छिन्। बुवाको माया नपाएपनि आमाको ममताबाट छोरालाई बिमुख बनाउन उनी चाहदैनिन्। आफ्नो पढ्ने रहर अब उनी छोराले पुरा गरिदिओस भन्ने चाहन्छिन्। आफ्ना रहरहरु २ वर्षको आफ्नो छोराका आँखामा हेर्दै जीवन अगाडि बढाइ रहेकी छिन्।

Comments

Popular posts from this blog

त्यो रात कसले आगो लगायो ?

त्यो रात आखिर के भएको थियो ?