मालाले कसरी पढ्ने होला?



164Shares
facebook sharing button 158
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button
मालाले कसरी पढ्ने होला?

  • भूमिका कुमारी विष्ट-

पढाइसम्बन्धी एउटा छलफल कार्यक्रममा मालासँग पहिलो पटक भेट भएको थियो। पातलो नाक, गहुँगोरो वर्णकी उनी, कक्षाका अरुभन्दा भिन्नै थिइन्। उनको ध्यान छलफलमा भन्दा अन्तै थियो। उनको बारेमा बुझ्ने मेरो कौतहुलता झन् बढ्यो। अर्को दिन फेरि उनीसँग नजिक हुने कोशिश गरे, तर उनी खुलिनन्। विद्यालयमा पढाइ कस्तो छ? घरमा कस्तो अवस्था छ? पढ्न समय मिलाउन सकिन्छ कि नाई? यस्तै यस्तै कुरा बुझ्न खोज्दैथिएँ म। लगभग १ महिनासम्म बेलाबेला स्कूल जाने र कुराकानी गर्ने गर्न थालेपछि उनको भित्री कुरा थाहा पाएँ।

माला सानैदेखि फुपुको घरमा बसेर पढ्दै आइरहेकी रहेछिन्। १३ वर्षकी उनी अहिले कक्षा ६ मा पढ्छिन्। मालाका बिहे भइसकेका २ दिदी र एउटा सानो भाइ पनि छ। भाइ अहिले आमाबुबासँगै आफ्नै घरमा रहेछन्।

माला ८ वर्षकी हुदाँ उनकी आमालाई बाहु (बाथ) रोगले समायो। उपचार गर्दा मालाको परिवारलाइ निकै आर्थिक समस्या भयो। आर्थिक अभावले गर्दा मालाले स्कुल नै जान छोडिन्। खानेमुख धेरै भएपछि मालाका बुवाले उनका दुइ दिदीको सानैमा बिहे गरिदिए। मालाको पनि त्यस्तो नहोस भनेर उनकी फुपुले पढाउन भन्दै आफ्नो घरमा लैजानुभयो।

मालालाई सुरुमा फुपुको घर महल जस्तै लाग्यो। छोराछोरी विदेश, फुपु नेपाल। सन्तानको न्यास्रो मेट्न उनले मालालाइ आफ्नो घरमा ल्याएकी थिइन्। लेखपढ गरेर ठुलो मान्छे बन्नुपर्छ भनी फुपुले भन्दा मालालाइ धेरै हौसिएकी थिइन्। मालाका बुवा पनि फुपुको घरमा गएर छोरीले पढन थालेपछि निकै खुसी भएका थिए।

माला फुपुको घरमा भएका सरसामानहरु देखेर निकै दंग पर्थिन्। विदेशबाट ल्याएका घर सजाउने सामान र फुपुको साथीहरुले दिने उपहार निकै महँगो थिए। माला प्राय आफना साथीहरुसँग फुपुको घरको बयान गर्थिन्। माला आएपछि फुपुको पनि एक्लोपन कम भएको थियो। फुपुको साथले मालालाइ आमाको कमी महसुस हुन दिएको थिएन। माला पनि खुशीसाथ घरको काममा फुपुलाइ सघाउन आफै अघि सर्थिन्।

उनलाइ ठुलो भएर शिक्षक बन्न मन छ। त्यसैले उनी पढाइमा निकै रुचि राख्छिन्। छोरीलाइ स्कुल पठाउन नपाउँदा दुखी हुनु भएको बुवाको अनुहार मालालाइ बेलाबेला याद आउथ्यो। फुपुलाइ घरको काममा सघाएर उनी स्कुल जान्थिन्। स्कुलबाट फर्किएपछि पनि गृहकार्य गरेर घरकै काममा सघाउँथिन्।

घरको सरसफाइ, खाना पकाउने, भाडा माझ्ने, लुगा धुने र करेसाबारीको काम मालाले फुपुको घरमा आएदेखि नै गर्न थालेकी थिइन्। मालाको उमेर बढ्दै गएसँगै घरको सबै काम फुपुले उनलाइ नै लगाउन थालिन्। कक्षा बढ्दै गएसँगै मालाको पढाइको बोझ पनि बढ्न थाल्यो। तर पनि माला झर्को नमानी काम गर्थिन्।

मालाको उमेर र कक्षा बढ्दै गएपछि उनको आवश्यकताहरु पनि बढ्न थाले। उनकी फुपुलाइ भने विस्तारै यस्ता कुरा मन पर्न छोड्यो। फुपुले वेवास्ता गर्दा कापीकलम पनि साथीहरुसँग माग्नु पर्ने अवस्था आयो। ‘जाबो छ कक्षामा पढ्नेलाई किन यति धेरै किताब कापी’ फुपुको वचन झन् झन् रुखो हुन थाल्यो। कतिपटक त पैसा छैन वा बैंकबाट झिक्नु पर्नेछ भन्दै फुपुले टार्न थालेको मालाले महसुस गर्दै गइन्। ‘आज घरमा काम धेरै छ स्कुल नगए हुन्न?’ फुपुका यस्ता कुरा पनि सुन्न थालिन् उनले।

एकदिनको कुरा हो। मालाले स्कुलमा सांस्कृतिक कार्यक्रममा भाग लिएकी थिइन्। उनी त्यो कार्यक्रममा भाग लिन धेरै उत्साहित थिइन्। बिहानै उठेर सधैं झै घरको काममा लागेकी थिइन् उनी। त्यहीबेला फुपुले आज घरमा पाहुना आउने भएकोले स्कुल नजान भन्नुभएछ। मालाले आज स्कुल जान जरुरी भएको भन्दा फुपुले शुक्रवार एकदिन त हो नजा भन्नु भएछ। कार्यक्रममा भाग लिने रहरलाई मारेर माला घरै बसिन्। पाहुनाका लागि भनेर उनले खाना पकाइन्। पाहुनाले मालाको बारेमा फुपुलाइ सोध्दा फुपुले काम गर्ने नोकर्नी केटी हो भन्नु भएछ। फुपुले ‘नोकर्नी केटी’ हो भनेको सुनेर निकै हैरान भइन् माला। फुपुले सबैको अगाडी यस्तो भन्लान् भन्ने सोचेकी पनि थिइनन्। मालालाई त्यो दिन फुपुको घर आफनो नभई पराई भन्ने महसुस भयो। त्यो रात उनका मनभरी धेरै कुरा खेले।

भोलिपल्ट देखि उनले राम्रोसँग पढ्न सकेकी रहिनछन्। स्कुलमा पनि उनलाई खासै बस्न मन लाग्दैन। उनी साथीहरुसँग पनि कम बोल्छिन्। स्कुल सकिने वित्तिकै घर जान्छिन्। घरको सबै काम गर्छिन् तर पहिलाजस्तो मनले गर्दिनन रे। बेलाबेला उनी आफू त घरमा काम गर्ने केटी रहेछु भनेर सोचिरहन्छिन्। मालालाइ त्यो दिनदेखि फुपुको घरमा बस्न मन छैन। त्यसैले उ प्राय टोलाएर बसिरहन्छे। उसले पढाइमा पनि राम्रोसँग ध्यान दिन सकेकी छैन। न उ घरको काम नै राम्रोसँग गर्न सकिरहेकी छे। त्यसैले बेला बेला उसको हातबाट काम बिग्रीन्छ। काम बिग्रीदा फुपुको वचन झन झन् चोटिलो हुदैँ गएको छ। अझ बेलाबेला खान नपाउने अल्छिनी भनेर फुपुले गाली दिँदा उनको मुटुमा छुरा रोपिन्छ।

उनलाइ आफ्नो बाआमालाइ यो कुरा भन्न मन लाागेको छ। उनी बाआमालाइ भेटेर मलाइ काम गर्न पठाएको हो र भनी सोध्न चाहन्छिन्। छोरी पढ्दै छे भनेर खुशी भएका बा आमाको मन पनि किन दुखाउनु भनेर भन्न मन मान्दैन रे। बाले घर फर्काएर लगे कतै आफ्नो पढाइ रोकिने त होइन भनेर उनलाइ पिर लागेको छ। तर फुपुको बदलिएको ब्यबहार र वचनले उनलाइ फुपुको घरमा बसेर पढन पनि असजिलो भएको छ। ‘अब मालाले के गर्ने होला? ’  उनको कथा सुनेपछि मेरो मनमा पनि धेरै कुरा खेल्न थालेको छ।

-bhumibist115@gmail.com

Comments

Popular posts from this blog

त्यो रात कसले आगो लगायो ?

त्यो रात आखिर के भएको थियो ?