भूमिका विष्ट २०७९ साउन ६ गते १५:५२ ६ साउन, महेन्द्रनगर । चार महिनापछि विमला (परिवर्तित नाम) एकल महिला भत्ता लिन नगरपालिका जाँदैछिन् । उनको घरदेखि नगरपालिका पुग्न कस्सिएर हिंड्दा दुई घण्टा लाग्छ । यसै त तराईको उखरमाउलो गर्मी । हिंड्दा–हिंड्दै उनको घाँटीको खटिरा चिलाउन थाल्यो । खटिरा कन्याउँदै उनले सुस्केरा हालिन्, ‘मरन्या मरेर बाई गयो पापीले मकनी कहिलै निको नहुन्या घाउ दिइगयो’ (मर्ने त मरेर गयो, पापीले मलाई कहिले निको नहुने घाउ दिएर गयो) । उनको दुःखान्त १५ वर्षअघि सुरु भयो । १६ वर्षको कलकलाउँदो उमेरमा विमलाको विवाह भयो । चार छोरा जन्मिए । खाने मुख बढ्दै गयो, तर आयआर्जनको मेलो थिएन । उनका श्रीमान ज्याला मजदुरी गर्न भारततर्फ लागे । भारत गएपछि भने श्रीमानको अत्तोपत्तो हुन छाड्यो । श्रीमान कहिले दुई वर्षमा त कहिले तीन वर्षमा मात्र घर फर्कंन्थे । बनिबुतो गरेरै विमलाले चार लालाबाला हुर्काउँदै थिइन् । श्रीमान भारत पसेको धेरै समय बितिसकेको थियो । उनी कहाँ, के गर्दैछन् ? थाहापत्तो थिएन । पाँच वर्ष बित्यो । एकरात श्रीमान घर आइपुगे । श्रीमान भारत फर्कने बेला फकाईफुल्याई अ...